
२७ पुस ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत बहादुर सिम्खडाले नेपालको यातायात क्षेत्रलाई राज्यले नबुझेका बताएका छन् ।
बागमती प्रदेशसभा सदस्य समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडाले आइतबार महासंघको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल यातायात मजदुर संघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफू पनि यसै क्षेत्रबाट आएको भन्दै यस्तो बताएका हुन् ।

“नेपालको यातायात क्षेत्रलाई राज्यले बुझेको छैन्, नेपाल भूपरिवेष्ठित देश भएकाले समुन्द्र छैन, हवाईमार्ग एउटा अभिजात वर्गमा सीमित छ । रेल मार्गको विकास भएको छैन्,” उनले भने, “नेपाल समृद्ध बनाउने हो भने यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनु पर्दछ ।
यातायात क्षेत्रमा विशुद्ध गरिखाने श्रमिक वर्गको लगानी रहेको भन्दै उनले होटलहरुमा, उद्योग तथा कलकारखाना लगायत अन्य क्षेत्रमा समेत दलाल पूँजीपति वर्ग र बहुराष्ट्रिय कम्पनीहरुको लगानी र दबदबा रहेको बताए ।

अध्यक्ष सिम्खडाले सम्पूर्ण यातायात मजदुर, स्वरोजगार श्रमिकहरुलाई आफ्नो हक अधिकारका प्राप्तिको आन्दोलन र संसद विघटनको असंवैधानिक कदमकाविरुद्ध एकढिक्का भएर लड्न समेत निर्देशन समेत दिए ।













