कान्तिपुर टिभी ‘टफ टल्क’को ‘र्यापिड फायर’मा सभामुख अग्निप्रसाद सापकोटा र उक्त टिभीका सम्पादक दिलभुसन पाठकबीचको रोचक संवाद :
दिलभुसन पाठक : कोसँग बढी बिश्वास छ, शिक्षक कि राजनीतिज्ञ ?
सभामुख सापकोटा : शिक्षक ।
पाठक : राजनीतिमा परिवर्तन शान्तिपूर्ण कि सशस्त्र ?
सापकोटा : अन्तिमसम्म शान्तिपूर्ण ढङ्गले प्रयत्न गर्नुपर्छ र सशस्त्र दमन भयोभने त्यसको प्रतिरोध गर्नुपर्छ ।
पाठक : पार्टी नेतृत्वको प्राथमिकता कार्यकर्ता कि आम नागरिक ?
सापकोटा : त्यसको द्वन्द्वात्मक सम्बन्ध छ ।
पाठक : चुनावी प्रतिस्पर्धा गठन्धन भएर कि एक्लाएक्लै ?
सापकोटा : त्यो परिस्थितिले निर्धारण गर्ने कुरा हो। स्वस्थ प्रतिस्पर्धा नै राम्रो कुरा हो ।
पाठक : सदनमा कस्को भूमिका जटिल, सत्तापक्ष कि प्रतिपक्ष ?
सापकोटा : कसले लोकतान्त्रिक मुल्यमान्यताको आत्मसात गर्छ, त्यसबाट अलि जटिलताको सिर्जना हुँदैन। त्यो आत्मसात नगर्नेबाट अलि जटिलता सिर्जना हुन्छ ।
पाठक : चुनाव लड्नुभयो र जितेर आउनुभयो भने अर्को कार्यकालमा के बन्नुहुन्छ ? सभामुख, मन्त्री कि प्रधानमन्त्री ?
सापकोटा : रियल भन्छु, त्यतातिर मैंले सोचेको छैन ।
पाठक : तपाईं तत्कालीन नेकपाबाट सभामुख भएको ब्यक्ति, अब एमालेसँग एकता सम्भव छ कि छैन ?
सापकोटा : हैन, असम्भव भन्ने कुरा त के छ र ? सम्भव हुनसक्छ। तर समय लाग्ला ।
पाठक : एकजना रोज्नुपरे तपाईं कसलाई रोज्नुहुन्छ, केपी शर्मा ओली कि माधवकुमार नेपाल ?
सापकोटा : यो कुरा म सभामुखको जिम्मेवारीबाट हटेपछि भनौंला ।
पाठक : एक शब्दमा, राष्ट्रपति विद्यादेवी भण्डारी ?
सापकोटा : वर्तमानमा उहाँ सम्माननीय राष्ट्रपति हुनुहुन्छ ।
पाठक : होइन, त्यो पदभन्दा बाहेक ?
सापकोटा : पदभन्दा बाहेकको कुरा गर्ने हो भने त मेरो उहाँसँग राम्रै सम्वन्ध छ । लामो अन्तरक्रिया हुन्छ ।
पाठक : एक शब्दमा प्रधानमन्त्री शेरबहादुर देउवा ?
सापकोटा : सभामुख र प्रधानमन्त्री हैसियतले कुरा हुँदा उहाँले हुँदैन भनेको केही छैन । धेरै सोचिसम्झी गरेको पनि केही छैन । ठिक छ, हुन्छ भन्ने नै छ ।
पाठक : पुष्पकमल दाहाल, एक शब्दमा ?
सापकोटा : उहाँसँगको मेरो सम्बन्ध त ०३७ सालदेखिकै हो ?
पाठक : टिप्पणी गर्नु न एक शब्दमा ?
सापकोटा : डायनामिक लिडर ।
पाठक : डा. बाबुराम भट्टराई ?
सापकोटा : अध्ययशील ।
पाठक : केपी शर्मा ओली ?
सापकोटा : योजना निर्माणमा अलि कुशल ।
पाठक : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा ?
सापकोटा : स्वाभाविक देखिनुभएको छैन ।
पाठक : एमसीसी पारित हुनु सहि कि गलत ?
सापकोटा : यसलाई बिकास निर्माणमै सीमित राखेर कार्यान्वयन हुँदा आवश्यकै कुरा हो ।













