आयोजक गण्डकीलाई म्याराथनमा अनिशले दिलाए स्वर्ण पदक

१ कार्तिक ०७९, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार सम्पन्न म्याराथन स्पर्धाको पुरुषतर्फ आयोजक गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

भारतीय सेनामा कार्यरत भई विदामा आएका पर्वतका अनिश थापा मगरले राष्ट्रिय खेलकुदको इतिहासमा गण्डकीलाई म्याराथनबाट पहिलो स्वर्ण पदक जिताएका हुन् ।

अनिशले १८ जना सहभागी भएको ४२.१९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरेर स्वर्ण हात पार्दै गर्दा नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक हात पारे भने सशस्त्र प्रहरी बल एपिएफका सन्तोष विक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जितेका छन् ।

‘घरेलु मैदानमा स्वर्ण जित्न पाउँदा निकै खुसी लागेको छ,’ स्वर्ण जितेपछि अनिशले भने, ‘यसपटक जसरी पनि स्वर्ण जित्छु भन्ने थियो ।’