मोहम्मद इस्तियाक राईलाई सोधियो २४ घण्टे स्पष्टीकरण
२१ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था राईलाई स्मरण गराईएको छ ।
बालबालिकालाई प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण
यसैगरी निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुम बहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई स्पष्टिकरण सोधेको छ ।
स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ ।
स्पष्टीकरण पत्रमा ठाकुर र नेपाललाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यलयमा प्राप्त हुनेगरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिएको छ । बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यलय दाङमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण
यसैगरी निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो । यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।
अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न पत्र
निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) मा कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानून वा आयोगले दिएको निर्देशनको विपरीत कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारी उपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ८, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।
‘‘प्रचलित सेवा शर्त सम्बन्धी कानून बमोजिम अनुसन्धान तथा कारबाही गरी निर्वाचन आयोग ऐन, २०७९ को दफा ४४ को उपदफा (३) बमोजिम तीन महिनाभित्र निजलाई भएको कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराउन निर्णयानुसार अनुरोध छ ।” आयोगको पत्रमा उल्लेख छ ।













