१२ मंसिर ०७९, काठमाडौं । आइतबार दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै मोहमोद कुडुसको दुई गोल मद्दतमा घानाले समूह एचको खेलमा कतारमा जारी विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको घानाले पाँच गोलको थ्रीलर खेलमा कोरियामाथि रोमाञ्चक जितसहित पहिलो ३ अंक जोडेको छ । दुई खेलबाट ३ अंकसहित घाना दोस्रो स्थानमा उक्लेको छ ।
पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको कोरियाको भने यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको कोरियाका लागि अन्तिम १६ को यात्रा कठिन बन्दै गएको छ ।
मोहमद सालिसुले २४औं मिनेटमा गोल गर्दै घानालाई पहिले अग्रता दिलाएका थिए । त्यसको दश मिनेटपछि कुडुसले गोल गर्दै घानालाई दुई गोलको अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोलले पछि परेको कोरिया दोस्रो हाफमा दुई मिनेट अन्तरमा सोङले दुई गोल गरेपछि खेलमा फर्किएको थियो ।
सोङले ५८औं र ६१औं मिनेटमा गोल गर्दै खेल २-२ को रोमाञ्चक स्थितिमा पुर्याएका थिए । तर खेलको हिरो बनेको कुडुसले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई ३-२ को अग्रता दिलाए ।
विश्वकपमा घानाको १२ वर्षपछि यो पहिलो जित हो । सन् २०१० मा क्वाटरफाइनल पुगेको घाना २०१४ मा समूह चरणको दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरी खेलेको थियो ।













