
काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिने फुटसल आयोजना गर्ने भएको छ ।
संगठनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् ।
विद्यार्थीको सीप विकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गरिएको बताउँदै प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ले भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको र प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै सहभागिता जनाउन पाउने बताए ।
यस्तै प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिए ।
अठार वर्षअघि स्थापना गरिएको प्याब्सकले पटक–पटक शैक्षिकसहित सिर्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।













