बुटवलका बासिन्दालाई रगतसम्बन्धी सबै सेवा निःशुल्क

१९ माघ, रुपन्देही । बुटवल उपमहानगरपालिकाले उपमहानगरका बासिन्दालाई रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा रक्तसञ्चार केन्द्र्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे सम्झौतापत्रमा हस्ताक्षर भएसँगै रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था भएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगर र रेडक्रसका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने, सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको बताए ।