दलितको भोज खाएपछि सामाजिक बहिष्कारमा महोत्तरीको एक परिवार

१९ फागुन ०७९, जनकपुरधाम । दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ ।

भिखारी महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएपछि महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो ।

तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएका थिए ।

भिखारीकाअनुसार समाजले उनलाई जातबाट निकालिदिएको छ भने भातपानी बारेको साथै सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने बताएका छन् ।

शुभनारायणकोमा भोज खाएयता ५।७ वटा भोज भइसकेको तर कोइरी, यादव समुदायको कुनै पनि भोजमा निम्तो नदिइएको भन्दै उनले आफ्नै जातिले नै प्रतिबन्ध लगाएपछि अन्य जातले पनि अछुतकारुपमा व्यवहार गरेको बताए ।