१३ बैशाख ०८०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सोको कार्यान्वयन नभएको भन्दै स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई मापदण्ड कार्यान्वयन नभए कारबाही गर्ने चेतावनी दिएको हो ।
महाशाखाले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ ।













