कांग्रेस-एमालेले क्यान्टोनमेन्टको कुरा निकालेर जनताको ध्यान मोड्न खोजेको छ – सुवोधराज श्रीपाली

३० बैशाख ०८०, काठमाडौं । योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसीएल)ले क्यान्टोनमेन्टको विषय निकालेर कांग्रेस, एमालेले जनताको ध्यान मोड्न खोजेको भन्दै नेकपा (माओवादी केन्द्र)ले जनतामा परेको भ्रम चिर्नुपर्ने बताएको छ ।

सरकारले सुरूगरेको भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठनहरूले बानेश्वरमा आयोजना गरेको कोण सभामा वाईसीएल अध्यक्ष सुवोधराज श्रीपालीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग क्यान्टोनमेन्टको छानबिन गर्न माग गर्दै अध्यक्ष श्रीपालीले जनमुक्ति सेनाहरूलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेको बताए ।

उनले भने “नक्कली भुटानी शरणार्थी बनाएका ठूला नेताहरूलाई सरकारले कानुनको कठघरामा उभ्याउँदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस, एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको छ, प्रधानमन्त्रीले जनतामा परेको भ्रम चिर्नुपर्दछ ।”

माओवादीभित्र कुनै खोट नभेटिएपछि क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस, एमालेका नेताहरूले अपमान गरिरहेको बताउँदै उनले भने, “यदि उनीहरू (कााग्रेस, एमाले)को आरोप सत्य हो भने जोकोही दोषीलाई कारबाही गर्नुपर्छ तर सरकारले भ्रष्टचारविरूद्धको अभियान रोक्नु हुँदैन ।”