भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ

३१ बैशाख ०८०, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

बैशाख २० गते वारेन्ट जारी भएपछि फरार प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले सचिव रायमाझी ११ दिनपछि आइतबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दिएको जानकारीअनुसार बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका उनलाई प्रहरी वृत्त सोह्रखुट्टे ल्याइएको छ ।

यही प्रकरणमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बैशाख २० गते नै पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीइ सदस्य बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन् ।