कांग्रेसको महाधिवेशन प्रतिनिधि आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

३१ बैशाख ०८०, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको अनुसन्धानका संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएका हुन् ।

२०७० सालमा रामेछाप–१ बाट संविधानसभा सदस्य निर्वाचित शेर्पाले भुटानी शरणार्थी प्रकरणमा २०७९ चैत १२ देखि हिरासतमा रहेका केशव दुलाललाई प्रहरी वृत्त कालीमाटी र सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए ।

भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतकाअनुासर केशव दुलाल र सानु भण्डारी थुनामा परेपछि उनीहरूका दाजु–भाइसँग शेर्पाले बालकृष्ण खाँणले लिएको रकम फिर्ता गर्ने कागज समेत गरेको थाहा भएको छ ।

शेर्पालाई खोजिरहेको प्रहरीले शनिबार शेर्पाको काठमाडौँको मैजुबहालस्थित घरमा छापा मारेको थियो ।