नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदै

१ जेठ ०८०, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ ।

रायमाझीलाई नेपालीसँग मोटो रकम असुल गरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्ने प्रकरणका गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । छोरा सन्दिप २० बैशाखमै पक्राउ परेपनि बाबू टोपबहादुर ११ दिनपछि मात्र पक्राउ परेका छन् । यसअघि यही प्रकरणमा काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत व्यक्तिहरू पक्राउ परिसकेका छन् ।