लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्तिको माग

३ जेठ ०८०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । सार्वजनिक नगरिए नेपाल बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद फैसला सदर गरेको भोलिपल्ट बुधबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले यस्तो चेतावनी दिएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्दितले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३, ४, ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र जेष्ठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने घोषणा यसै प्रेस विज्ञप्तिबाट जानकारी गराइन्छ ।’

सरकारले २०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न गिरिशचन्द लालको नेतृत्वमा आयोग गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन् ।