८ जेठ ०८०, काठमाडौं । सरकारले विपन्न वर्गलाई मासिक ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममार्फत विपन्न वर्गलाई मासिक रूपमा हिउँदमा ३०, बर्र्षायाममा ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूका अनुसार वर्तमान अवस्थामा २० युनिटसम्म विद्युत खपत गरेर निःशुल्क बिजुली बाल्नेको संख्या मासिक करिब १५ लाख २५ हजार रहेको छ । साथै, सरकारको यस घोषणाले हिउँदमा २८ लाख ५० हजार र बर्षायाममा २८ लाख २५ हजार उपभोक्ताले निःशुल्क बिजुली पाउने छन् ।
अहिले मासिक करिब १ करोड २० लाख युनिट खपत गर्ने उपभोक्ताहरूले प्राधिकरणबाट वार्षिक करिब १ अर्ब ८० करोड बराबरको निःशुल्क बिजुली बालिरहेको देखिन्छ । यस्तै सरकारको घोषणा कार्यान्वयन गर्दा निःशुल्क बिजुलीको मूल्य ११ अर्ब नाघ्ने प्राधिकरणको हिसाब रहेको बुझिन्छ ।
प्राधिकरणका अधिकारीहरू अहिले उपलब्ध गराइरहेकोभन्दा थप निःशुल्क बिजुली दिन नसकिने तर्क गर्दछन । उनीहरु अनुसार ५० युनिट खपत गर्ने उपभोक्ता निम्न मध्यम र मध्यम वर्गका बढी हुने भएकाले घाटामा निःशुल्क बिजुली दिन सम्भ्व हुँदैन् ।
तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालले साउन २०७८ मा २० युनिटसम्म बिजुली निःशुल्क घोषणा गरेकी थिइन् ।













