८ असार ०८०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरुभएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उदघाटन कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन् ।
‘आपतकाल कति बेला आउँछ, अन्दाज गर्न सकिदैन, मन्त्री बस्नेतले भने, जतिबेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यान दिई चिकित्सक र स्वास्थ्यकर्मीलाई आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।
उनले हरेक वर्ष जसो देशमा बाढीपहिरो आउने गरेकाले समयमै योजना बनाएर अगाडि बढेको अवस्थामा उपचार सेवाबाट बन्चित हुनु नपर्नेमा जोड दिएका थिए ।













