भक्तपुरमा घरेलु तथा कृषि पर्यटन मेला हुँदै

सन्जिब दुलाल/भक्तपुर । भक्तपुरमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ ।

भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकारसहित भक्तपुरको सूर्यविनायकमा मेला हुने भएको हो ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले विभिन्न स्वरोजगारका कार्यक्रम साथै सिपमूलक तालिम दिँदै आएको नगरपालिकाले नगरपालिकाको उपलब्धि साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको जानकारी दिए ।

यस्तै घरेलु तथा साना उद्योगका अध्यक्ष प्रेम खर्बुजाले नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्दै हुन लागेको उक्त मेलामा ९५ भन्दा बढी स्टलहरू रहने पनि बताए ।

सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको उक्त मेलामा भक्तपुरमा उत्पादन हुने तथा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शनी हुनेछ ।

मेलामा घरेलु उत्पादनका साथै स्थानीय खानाहरूको स्टल नेवारी खाना, योमरी, चटामरी, समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरूका साथै जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले जानकारी दिए ।