कला–साहित्य र खेलकूद प्रधानमन्त्रीको उच्च प्राथमिकतामा

१७ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका छन् ।

आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको बताउँदै उनले भने, ‘‘तपाईहरूले देख्नुभएकै छ– यसपटक मैले कला–साहित्य र खेलकूदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । खेलकूदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ । सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रवद्र्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ ।’’

उनले बक्सिङ खेललाई स्थापित गर्न सरकारको साथ र सहयोग रहने पनि बताए ।

नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकूद संघ र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने प्रधानमन्त्रीको संकल्प

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् ।

आइतबार बिहान बालुवाटारमा इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, “मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।”

यस्तै प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गरेका थिए ।