
२० असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन् ।
बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोशिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे । कतिपय दललाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।”
“हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौ,” प्रधानमन्त्रीले भने, “विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।”
“युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्वपूर्ण कुरा हो,” उनले भने, “युवाहरूमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ । तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस् ।”
भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु
यस्तै बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको र आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन ।
उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला– थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ ।
“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियोे, उनले भने, “यो आफैमा वर्गसंघर्ष हो । वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो ।













