
२५ असार ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’सँगको विशेष भेटघाटमा श्रमजीवी मजदुरको न्यूनतम् पारिश्रमिक श्रेणीबिहीन कर्मचारीसरह गराउन ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भएको विशेष छलफलमा महासंघको केन्द्रीय पदाधिकारीले बेतनवृद्धि गर्न रोजगारदाताहरुले विविध कारण देखाउँदै आनाकानी गरेकाले विगतका नजीरलाई समेत ध्यान दिई मजदुरको न्यूनतम् पारिश्रमिक श्रेणीबिहीन कर्मचारीसरह (रु.२६,३४८) गराउन ध्यानाकर्षण गराएको हो ।

महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न, गराउन समेत सरकारलाई सचेत गराएको छ ।
सरोकारवाला मन्त्रालय र पक्षसँग आवश्यक छलफल तथा परामर्श गरेर मजदुरको न्यूनतम् पारिश्रमिक निर्धारण गरिने भन्दै प्रधानमन्त्री प्रचण्डले कम्तीमा श्रमको उचित सम्मान र जीवनयापन हुनेगरी पारिश्रमिक बृद्धि गर्न साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यानवयन गराउन पहल लिने प्रतिबद्धता जनाएका छन् ।
उक्त छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको उपस्थिति रहेको थियो ।













