४ साउन ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गदै असारे विकासको प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् ।
बुधबार बिहान काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने भन्दै यस्तो बताएका हुन् ।
‘‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ,’’ प्रधानमन्त्रीले भने, ‘‘विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु ।’’
प्रधानमन्त्रीले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
उनले सुशासनको लक्ष्य हासिल गर्न सरकार भ्रष्टाचारविरोधी अभियानमा तीव्रताका साथ अगाडि बढिरहेको बताउँदै यस अभियानमा सबैको साथ सहयोग अपेक्षासहित समर्थन र ऐक्यवद्धताप्रति आभार व्यक्तसमेत गरेका छन् ।













