
२१ साउन ०८०, पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य कार्यालयहरुलाई बिरामीको चाप घटाउने गरेर काम गर्ने निर्र्देशन दिएकी छन् ।
सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय स्वास्थ्य कार्यालयहरुको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिम्खडाले यस्तो निर्देशन दिएकी हुन् ।
जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्नुपर्ने साथै गण्डकी प्रदेशभन्दा बाहिरी अस्पतलमा रिफर गर्दा बिरामीलाई थप समस्या हुनसक्ने भन्दै उनले सकेसम्म धेरैभन्दा रोगको उपचार प्रदेशमै गर्न निर्देशन दिइन् ।
आयुर्वेद औषाधालयलाई सँगसँगै विकास गरेर काम गर्ने योजना सुनाउँदै स्वास्थ्य क्षेत्र सुधार गर्न आफूले कुनैपनि कसर बाँकी नराख्ने र प्रदेशबाटै सकेसम्म धेरै सेवा निःशुल्क दिइने बताइन् ।
मन्त्री सिम्खडाले एनजीओसँग सहकार्य गर्ने कार्यक्रमहरु आफूसँग सोधेर मात्र गर्न सुझाइन् ।
यस्तै कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तीब्ररुपमा अघि बढाउनुपर्ने बताए ।
उनले जनताको स्वास्थ्य उपचारको लागि कम खर्च हुने योजना अघि बढाउनु पर्ने भन्दै स्वास्थ्य क्षेत्रको कुनैपनि योजनामा बजेट हाल्नुअघि अनुसन्धान हुँदा प्रभावकारी हुने बताए ।
यसैगरी संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक बिकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनीय कार्य गरेको भन्दै अहिले पनि गण्डकी अस्पतालले संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिइरहेको बताए ।
उनले ५० शैयाको सो अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समीक्षामा प्रगति विवरण र आगामी वर्षको योजना सुनाएका थिए ।













