
२४ साउन ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताएका छन् ।
बुधबार २९ औँ आदिवासी दिवसका अवसरमा कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

“नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो यथार्थलाई हामी सबैले ठीक ढंगले आत्मसात गर्न जरूरी छ ।”

उनले यस दिवसले प्राप्त अधिकारको संरक्षण र सुदृढीकरण गर्दै थप अधिकार प्राप्तिको आन्दोलनलाई व्यवस्थित तुल्याउन, राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्न महत्वपूर्ण प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरे ।















