२६ साउन ०८०, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग गरेको ५ बुँदे सहमतिप्रति आफूहरुको विमति रहेको जनाएको छ ।
जसपाले राजनीतिक पूर्वग्रहका आधारमा पीडितले जाहेरी दर्ता गरेको भन्दै सरकारले पीडित पक्षसँग ५ बुँदे सहमति गरेसँगै बिमति जनाएको हो ।
उक्त सहमतिबाट तर्सिएको जसपाले शुक्रबार पत्रकार सम्मेलन गरी यसले शान्ति, स्थिरता र सद्भाव विथाल्ने बताएको छ ।
२०६३ चैत्र ७ गते गौर घटनामा २७ जना नेकपा माओवादी कार्यकर्ताको ज्यान गएको थियो । उक्त घटनाका पीडितहरुले आन्दोलन थालेपछि गृह मन्त्रालयले पीडित पक्षसँग २३ साउनमा पाँचबुँदे सहमति गरेको थियो ।
गौर घटनाका सन्दर्भमा सरकारले पीडित पक्षसँग सहमति गरेपछि जसपाका नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताइरहेका छन् ।













