सरकारको ध्यान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नेमा रहेको अनन्तको भनाई

२ भदौ ०८०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सरकारको सम्पूर्ण ध्यान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताएका छन् ।

शनिबार पार्टीको उपत्यका विशेष प्रदेश समितिको बैठकमा उपमहासचिव पुनले वर्तमान सरकार इतिहासकै लोकप्रिय सरकार भएको दाबी गर्दै यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जनतामा लोकप्रिय रहेको बताउँदै उनले भने, ‘१० देखि ११ प्रतिशत जनमत रहेको पार्टी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कामलाई अघि बढाएसँगै इतिहासमा पहिलोपटक ९० प्रतिशत जनताको समर्थनसहित लोकप्रिय बनेको छ ।’

प्रधानमन्त्री प्रचण्ड माओवादी पार्टीको मात्र नभई कांग्रेस र एमाले लगायत दलका नेताको पनि नेता भएको दाबी गर्दै उपमहासचिव पुनले भने, ‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं, राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो । कांग्रेस–एमालेले बेलाबेला गाली गरेपनि अप्ठ्यारो परेका बेला निकासका लागि प्रचण्डलाई नै खोज्ने आजको स्थिति छ ।’