मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ – प्रधानमन्त्री

२३ असोज ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताएका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनु पर्नेछ,’ उनले भनेका छन्, ‘समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ ।’

यस्तै हामीले मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्ने बताउँदै उनले भने, ‘मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ ।’

यस वर्ष असोज २३ गते ‘‘मानसिक स्वास्थ्य ः सबैको अधिकार’’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ ।