८ मंसिर ०८०, काठमाडौं । निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभामा रिक्त हुन आएका सदस्य पदहरूको निर्वाचन मिति सिफारिस गरेको छ ।
आयोगले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर २०८० साल माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न परामर्श दिएको हो ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको मिति २०८० फागुन २० मा पदावधि समाप्त हुने भएकाले आयोगले प्रधानमन्त्रीसँग परामर्श गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पदावधि सकिनु पैंतीस दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ भने उक्त ऐन बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको छ । सो व्यवस्था बमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।
आयोगकाअनुसार परामर्शकाक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार मन्त्रिपरिषदबाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने बताएका छन् ।














