सप्तरीमा ट्रक दुर्घटना, चालकको मृत्यु

२९ साउन ०८१, सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्वतर्फ जाँदै गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले दिएको जानकारीअनुसार मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय ट्रक चालक सबिन राईको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता न्यौपानले आज बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको बताए ।

उनले घट्नास्थलमानै मृत्यु भएको चालकको शव क्रेन र जेसिबीको सहयोगमा निकाल्ने कार्य भइरहेको पनि बताए ।