
काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताएकाे छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ कराेड बढीकाे छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिएको हो ।
चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिए ।
‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन् ।’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएकाे बताउँदै अध्यक्ष खत्रीले भने ।
साथै, उनले याेग्य विद्यार्थीहरू पैसाका अभावका कारणले नेपाल इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्याे विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने बताउँदै विद्यार्थीहरूबाट उठेकाे शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने भएकाले अन्य कलेजहरूकाे तुलनामा कम रहेकाे बताए ।
‘याे कतै भागवण्डा हुँदैन, कसैलाई जाँदैन, याे राज्यकाे सम्पत्ति हाे । तपाई हाम्राे सम्पत्ति हाे ।’ अध्यक्ष खत्रीले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखाैं खर्च गरेर सानै उमेरका विदेशिनु गलत रहेकाे जिकीर गर्दै भने, ‘प्लस टु पास हुने वित्तिकै विदेश जानु भन्दा पनि दक्ष भएर सीप सिकेर विश्वकाे जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि जानुपर्छ ।’
पाेखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिए । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उनकाे भनाइ छ ।
चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययन/अध्यापन हुँदै आएको छ ।
कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट), सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट), सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ । भने, बी. आर्किटेक्टमा ४८ सिट रहेकाे छ ।
स्नातकोत्तर तहतर्फ भने कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टसम्बन्धी अध्यापन हुँदै आएको छ । कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजसँग करिब २०० रोपनी जग्गामा पूर्वाधार छ ।













