
१ भदौ ०८१, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा कोटीहोम स्थलमा भएको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ ।
शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् ।
उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।













