
८ भदौ ०८१, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरेको छ ।
शनिबार भलिबल संघले एक कार्यक्रम आयोजना गरेर टोलीलाई नगदसहित सम्मान गरेको हो ।
कायृक्रममा काभा वुमन्स नेसन्स लिगमा सहभागी खेलाडीसँगै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार रुपैयाँ पुरस्कार पाए । गसैगरी सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरिएको थियो ।
नेपाली महिला टोलीले भारतलाई पहिलो पटक हराएर इतिहास रचेको थियो तर फाइनलमा भारतसँगै पराजित भएपछि नेपालले रजत पदकमा चित्त बुझाउन परेको थियो ।
भलिबल संघले काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो ।
स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनाले समान ३० हजार प्राप्त गरे ।
बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे ।
यस्तै माल्दिभ्समा भएको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल यू२० महिला टोलीले कांस्य जितेको थियो । कांस्य विजेता टोलीलाई जनही १५ हजार पुरस्कार प्रदान गरियो ।
पदक विजेता भलिबल टिम र खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष ठा. उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।













