१३ भदौ ०८१, काठमाडौं । मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार बसेकोे मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
साउन १० मा मुख्यसचिव नियुक्त भएकी मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्ष उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् ।
काँग्रेस–एमालेको सत्ता गठबन्धन सरकारले सचिवहरुको वरियताक्रममा चौथो नम्बरमा रहेका हालका गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
अर्यालभन्दा सिनियर सचिवहरुमा पहिलो नम्बरमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, दोस्रो वरियतामा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए ।













