सरकारी अस्पताललाई बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

१७ भदौ ०८१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै बिदाको दिन पनि ओपीडी सेवासहित सबै सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाद्वारा जारी परिपत्रमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७ भदौमा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ, ‘‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१÷०५÷१६ को निर्णय अनुसार अनुरोध छ ।’