कैफियत देखिएपछि प्रहरी प्रधान कार्यालय झिकाइए १० प्रहरी

१८ भदौ ०८१, काठमाडौं । मधेश र कोशी प्रदेश प्रहरी कार्यालयका गरी १० जना प्रहरीलाई कैफियत देखिएपछि सोधपुछका लागि प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धानका लागि १० जनालाई हेडक्वाटर नक्साल झिकाइएको हो ।

‘केही कैफियत देखिएपछि सोधपुछका लागि बोलाइएको हो । अहिले छानबिन भइरहेको छ’, स्रोत भन्छ, ‘जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन् ।’

स्रोतका अनुसार तानिनेहरुमा मधेश प्रदेशका ९ जना र कोशी प्रदेशका १ जना गरी १० जना छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै आइजिपी बसन्तबहादुर कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताएका थिए ।