अबिरल झरीका कारण मुख्य राजमार्ग अवरुद्ध

११ असोज ०८१, काठमाडौं । बिहीबार रातिदेखि परेको अबिरल झरीका कारण मुख्यराज मार्गहरु कतै पहिरोले कतै सडक जलमग्न हुँदा अवरुद्ध भएका छन् ।

सडक विभागले दिएको जानकारीअनुसार पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अन्तर्गत नागढुंगा र पृथ्वी राजमार्गकै धादिङस्थित ७ किलो भन्ने स्थानमा सडक अवरुद्ध छ ।

पृथ्वी राजमार्गको धेरै स्थानमा पहिराहरु झरेकाले सवारीसाधन सजिलैसँग गुड्न पाएका छैनन् ।

विभागले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको बताएको छ ।

पहिरोको जोखिमलाई ध्यान दिई जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवतजावत रोक्ने निर्णय गरेको छ ।

नारायणगढ तर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने बताइएको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल क्षेत्रमा समेत राजमार्ग अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत सडक खण्ड अन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा पनि सडक रोकिएको छ ।

कान्ती राजमार्गको मकवारपुर क्षेत्रमा गएको पहिरोले राजमार्ग अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

हवाई यात्रा प्रभावित

त्रिभुवन विमानस्थलले आज भरतपुर, सुर्खेत र पोखरामा निर्धारित उडानहरू रद्द भएको बताएको छ ।

यस्तै अन्तर्राष्ट्रियतर्फ पनि धेरै उडानहरु प्रभावित भएका छन् । केही विमानहरू एक घण्टासम्म होल्ड गर्नु परेको थियो ।