क्रान्तिकारीको बन्दसत्र स्थगित, हलमा तोडफोड

१६ असोज ०८१, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बन्दसत्र भएपछि छिटो सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले हलभित्र प्रदर्शन र तोडफोड गरेका हुन् ।

बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए ।

विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन् ।

पार्टी अध्यक्ष प्रचण्डसमेतको छलफलबाट अखिल क्रान्तिकारीका नेताहरुले उमेर हद लगाउने कि नलगाउने भन्ने विषय मतदानबाट टुंगो लगाउने र त्यसपछि नेतृत्व चयनका लागि मतदान गर्ने समझदारी गरेका थिए । तर केही पदाधिकारीहरु नै उमेर हद लगाउने कुरामा सहमत हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको छ ।