१७ कार्तिक ०८१, जलेश्वर । संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी संविधानको उल्टो संशोधनविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन ।
संद्दर्ष समितिले नेपाली काँग्रेस र नेकपा एमालेद्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेर यस्तो चेतावनी दिएको हो ।
संयुक्त मधेश संघर्ष समितिले प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०% सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको छ ।
समितिले पहिचान आधारित प्रदेशको सीमांकन,पूर्ण समावेशी समानुपातिक पद्धति र निर्वाचन क्षेत्रको रुपमा प्रदेश, थ्रेस होल्डको समाप्ति, राष्ट्रिय सभाको वर्तमान स्वरुपमै जनसंख्याको हिसाबले प्रदेशहरुबाट प्रतिनिधित्व, प्रादेशिक राजनीतिक दलहरुको मान्यता, तथा राज्यका अंगहरुमा समानुपातिक समावेशी उपस्थिति आफूहरुको माग रहेको बताएका छन् ।
संघर्ष समितिमा तराई–मधेश लोकतान्त्रिक पार्टी, मधेशी राष्ट्रीय मुक्ति मोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी र एकीकृत समाजवादी पार्टीका नेताहरू रहेका छन् ।
समितिले यस अघि भदौ ३१ गते धनुषाको जनकपुरधाममा पहिलो खबरदारी सभा गरेको थियो । उसले मधेशको ठूलो पर्व छठ सकिने बित्तिकै सबै जिल्लाहरुमा खबरदारी सभा गर्ने र त्यसपछि कार्यक्रमको अर्को चरणमा प्रवेश गर्ने बताएको छ ।
आजको खबरदारी सभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव, तमलोपाका अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयोजक जगत प्रसाद यादव, संविधानसभा सदस्य एकीकृत समाजवादीको नेता शीतल झा, मधेश प्रदेशका माओवादी संसदीय दलको नेता भरत साह, नेसपाको अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष इमदाद गद्दी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा महोत्तरीको अध्यक्ष बिजय यादव, तमलोपाका नेताहरु जोगिन्दर राय तथा बिमला साह लगायतले मन्तव्य राखेका थिए ।













