मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

१९ कार्तिक ०८१, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको हो ।

म्याग्दी जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षात्का कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको बताए ।

उनले वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न आग्रह गरे ।

बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने पनि प्रहरी प्रमुख केसीले बताए ।