बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ अभियान चलाउन पर्ने भएको छ – प्रचण्ड

२४ कार्तिक ०८१, मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको आन्दोलनको मुख्य एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने बताएका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकामा योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै आफूले राजनीतिबाट विश्राम लिने बताउँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताए ।

‘नयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ’, प्रचण्डले भने, ‘प्रचण्ड थाकेको छैन, थाक्दैन पनि ।’

कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताए ।