अखिल क्रान्तिकारीको निर्वाचन, उमेर हद लगाउने पक्षमा बहुमत

१४ पुस ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ ।

उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ ।

अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो ।

३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए ।

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो ।

त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार निर्वाचन गरिएको थियो ।

अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि यही माघ १२ गते दोस्रो चरणको निर्वाचन हुनेछ ।