आज : एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बस्दै

२१ पुस ०८१, काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

सत्तारुढ दल एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल र प्रतिपक्षी दल माओवादी केन्द्रको दिउँसो १ काठमाडौं धुम्बराहीको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

एमाले बैठकमा पहिलो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ यस्तै माओवादी केन्द्रको बैठकमा पनि अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने छन् ।

एमाले अध्यक्षको प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।

यता माओवादीका अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन् ।

माओवादी केन्द्रको बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको सहभागिता रहनेछ ।