२५ पुस ०८१, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका छन् ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनीहरु धरौटी वापतको रकम जम्मा गरेर छुटेका हुन् ।
यस्तै अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । लामिछाने बिहीबार नै ६५ लाख धरौटी बुझाएर छुटेका छन् ।













