२६ माघ ०८१, काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताएका छन् ।
शुक्रबार माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं’ प्रचण्डले भने, ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।’
जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई बिरोधीले अपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रुपमा स्थापित हुन सफल भएको बताए ।
‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो’ उनले भने, ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, बामपंथ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौं, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’
यस्तै शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिष्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरु बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको पनि उनले बताए ।
जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले भने, ‘हामीले त्यतिबेला स्पष्ट भनेका थियौं– अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरुसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ तर त्यो गणतन्त्रलाई बर्जुवाहरुले आफ्नोअनुकूलको गणतन्त्र बनाउने प्रयास गर्ने छन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने छौं । अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौं ।’
शान्ति प्रक्रिया र संविधान लेखनहुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरिएको उल्लेख गर्दै प्रचण्डले अब पार्टी सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने बताए ।













