१८ फागुन ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले राष्ट्रिय सभामा भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग उठाएका छन् ।
राष्ट्रिय सभामा आइतबार शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाई जस्तै निरन्तरता नदिने भन्ने खालको कुराकानी भइरहेको छ । सायद कानुन पनि त्यसअनुसार बनेको छ,’ उनले भने, ‘भूतपूर्व गोर्खा सैनिकहरू वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, उनीहरू एनआरएनए जस्तै वंशजको नागरिकताको अन्त्य चाहँदैनन् । त्यसैले यो कुराको सम्बोधन गरियोस् ।’
भूतपूर्व गोर्खा सैनिकहरूको समान तलब, समान पेन्सन र सुविधा लगायतको मागमा धेरै सम्बोधन भएको तर नेपाली नागरिकताको निरन्तरताको माग सम्बोधन नभएको पनि उनले बताए ।













