२६ फागुन ०८१, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फागुन २५ गतेबाट लागू हुने गरी काठमाडौंको केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
शनिबार प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जनाएको छ ।
आदेशमा भनिएको छ, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जानें अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८१÷११÷२५ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।”
यस्तै आदेशमा निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिवद्ध रहेको उल्लेख छ ।
आदेशमा संविधान एवं प्रचलित कानून प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र क्षति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा “सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन सम्बन्धी कार्यविधि, २०८१” बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकम असुल उपर गराइने व्यहोरा समेत सम्बन्धित सबैमा स्मरण गराइएको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश:















