
२७ फागुन ०८१, रुपन्देही । मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको छैठौं राष्ट्रिय सम्मेलन भोलि बुटवलमा उद्घाटन हुँदैछ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा “मगर भाषा संस्कृति र मगराँत भूमि हाम्रो शान; समता, समृद्धि र सुशासनको लागि पूर्ण समानुपातिक निर्वाचन !” भन्ने मूलनाराका साथ भोलि बुधबार रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा सम्मेलन उद्घाटन हुने भएको हो ।
मगर राष्ट्रिय मुक्तिमोर्चा केन्द्रीय सचिव बिरबहादुर ठाडाले सम्मेलन फागुन २८ र २९ गते दुईसम्म हुने जानकारी दिए ।
तनहुँबाट प्रतिनिधि समेत रहेका उनले सम्मेलनको अन्तिम तयारी भइसकेको बताउँदै तनहुँबाट बाह्र मगरात झल्काउने गरेर उद्घाटन सत्रका लागि मरामुमो तनहुँले कौरा नाच लैजाने बताए ।
सचिव ठाडाले सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनमगर ‘अनन्त’, उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, सचिव चक्रपाणी खनाल ‘बलदेव’, स्थायी समिति सदस्य एवं आदिवासी जनजाति संयुक्त मोर्चाका इन्चार्ज तथा पूर्व सभामुख ओनसरी घर्तीमगर ‘उषा’, आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक तथा मगर मोर्चाका इन्चार्ज सुरेश आलेमगर लगायत मगर समुदायबाट पार्टी केन्द्र र प्रदेशमा विभिन्न पदमा रहेका नेताहरूको उपस्थिति रहने बताए ।
मोर्चाले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनलाई विशेष बनाउन मगर समुदायको मौलिक पोशाकसहितको साँस्कृतिक झाँकी प्रस्तुत गरिने र विभिन्न स्थानबाट २० हजारको संख्यामा -याली निकालिने बताएको छ ।
जसमा बिहान ११ बजे र्याली निस्कन भेला हुने स्थानहरु गण्डकी प्रदेशको गोलपार्क, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको तिनाउ पुल, बागमती, मधेश, र कोशी प्रदेशको बसपार्क तय भएको आयोजकले बताएको छ ।
सम्मेलनको बन्द सत्र तिलोत्तमास्थित दरबार लन पार्टी प्यालेसमा २८ गते साँझ ६ बजेबाट सुरु हुने साथै उक्त सत्रमा सातै प्रदेश र विदेश विभागका गरी १,५०० प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बताइएको छ ।
सम्मेलनले मोर्चाको विधान, प्रतिवेदन पारित गर्नुका साथै नयाँ केन्द्रीय समिति चयन गरिने मरामुमोका केन्द्रीय अध्यक्ष गणेश असलामी मगरले बताए ।
सलामीले यो सम्मेलनमा मगर भाषा, संस्कृति संरक्षण तथा सम्बद्र्धनलाई विशेष प्राथमिकता दिइने, आत्मनिर्णयको अधिकार सुनिश्चित गर्दै मगराँत स्वायत्त प्रदेशको स्थापनाको माग राख्दै शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने विषयलाई जोडदार रूपमा उठाइने बताए ।













