२७ फागुन ०८१, ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तरिक्रिया सम्पन्न गरेको छ ।
मंगलबार गोदावरी नगरपालिका वडा नं. ३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले लागूऔषध न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तरिक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा लागूऔषध सम्बन्धी कसरी समाचार सम्प्रेषण गर्ने लगायत पत्रकारको दायित्वसम्बन्धि सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले पछिल्लो समय लागूऔषधबाट युवावर्ग बढी प्रताडित भएको र उनीहरुमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताए । लागू औषध नियन्त्रणको अभियानसमेत चलाएका ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष घिमिरेले धेरै युवाहरुमा वितृष्ण भएको सोहि कारण लागू औषधमा फसेको बताए ।
‘लागूऔषधले कसरी असर पारेको छ ?, युवाहरुलाई कसरी फस्दै छन् ? र देशमा यसको असर के छ ?, भन्नेबारेमा सञ्चारकर्मी र सञ्चारमाध्यमले बढी भन्दा बढी ध्यान दिन आवश्यक देखिन्छ,’ वडाध्यक्ष घिमिरेले भने, ‘वडा नम्बर ३ मा लागू औषध सेवन रोक्न सचेतनाका अभियान गरिरहेका छौं, प्रहरीसँग समन्वय गरेका छौं, लागू औषध न्युनिकरण गरे समाज व्यवस्थित बन्न सक्छ, युवाहरुबाट देश निर्माणमा टेवा पुग्न सक्छ ।’
उनका अनुसार पछिल्लो समय वयष्क उमेर समूहका युवाहरु कुलतमा बढ्दो क्रममा छ । वडा कार्यालयले युवाहरुलाई यसबाट टाढा राख्न विभिन्न सचेतनाका कार्यक्रमहरु समेत गरेको जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरुलाई लागू औषधसम्बन्धी रिपोर्टिङ गर्दा बढी सचेत बनाउन यस प्रकारको तालिम आयोजना गरिएको बताए ।
‘सञ्चारकर्मीहरुले पनि लागूऔषध नियन्त्रणमा अहम भुमिका खेल्न सक्छन्, तर यसबारेमा समाचार संकलन तथा सम्प्रेषण गर्दा ध्यान नदिएमा नकारात्मक सन्देश पनि पर्वाह हुन सक्छ, त्यसैले उहाँहरुलाई थप ज्ञान हासिल होस् भन्ने उद्देश्यले यस प्रकारको तालिम आयोजना गरेका हौं,’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोसन पुरी, लेखासमिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु अर्जुन पन्त, सूर्य सुवेदी, पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोका, काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका सल्लाहकार ज्ञानप्रसाद पौडेल, अग्रज पत्रकार प्रभुनारायण बस्नेतलगायतको उपस्थिति रहेको थियो ।













