संगठन सुदृढ गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ

९ चैत्र ०८१, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध संघहरुले पछिल्ला दिनमा विभिन्न तहका कमिटीहरूको भेला, सम्मेलन र बैठक लगायतका गतिविधि गरेर संगठनलाई सुदृढ र  क्रियात्मक बनाएको छ ।

आज शनिबार काठमाडौंको बबरमहलमा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ केन्द्रीय समितिको बैठक बसेको छ ।

बैठकले आगामी बैशाखमा संघको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै पेट्रोल तथा ग्यास मजदुरको केन्द्रीय समितिको बैठक आजै काठमाडौं धुम्बराहीमा बसेको छ ।

यसैगरी आज नै अखिल नेपाल निर्माण मजदुर संघ ‘अंकु’ ललितपुर जिल्ला समितिको जिल्ला भेला सम्पन्न भएको छ ।

निवर्तमान अंकु जिल्ला अध्यक्ष लक्ष्मण सुब्बाको अध्यक्षतामा ललितपुरको चापागाउँ दोबाटोस्थित युनिटी क्याफेमा भएको भेलाले केशव प्रसाद तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

यस्तै अखिल नेपाल संघ संस्था, सञ्चार तथा छापाखाना श्रमिक संघ कास्कीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

पोखराको पृथ्वीचोकस्थित मजदुर सहिद स्मृति भवनमा अन्टुफ गण्डकीका उपाध्यक्ष टंक पौडेल, कास्की अध्यक्ष अर्जुन पौडेल लगायत मजदुर नेताको उपस्थितिमा सम्पन्न भेलाले केशव परियारको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

आजै हेटौंडामा अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।

अन्टुफ केन्द्रीय सचिव निरज गोले, बागमती प्रदेश अध्यक्ष सत्यमान लामा ‘मिलन’को विशेष उपस्थितिमा बसेको मकवानपुर जिल्ला महासंघको बैठकले यही चैत्र १५ गते काठमाडौंमा हुने भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्धको बिशाल प्रदर्शनमा जिल्लाबाट मजदुरको बिशेष सहभागिता जनाउने निर्णय गरेको अन्टुफ सचिव गोलेले जानकारी दिए ।

उनले बैठकले जिल्लाको सबै स्थानीय तहमा महासंघको कमिटी गठन गर्ने, श्रम ऐन संशोधन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन साथै आउटसोर्स खारेजी गर्न दबाबमुलक कार्यक्रम गर्ने, यसवर्ष पारिश्रमिक बृद्धिको वर्ष पनि भएकाले श्रमिकको न्युनतम पारिश्रमिक सरकारी श्रेणीबिहीन कर्मचारीसरह बनाउन चरणबद्ध संघर्षका कार्यक्रम गर्ने लगायतका निर्णयहरु गरिएको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लाई आजको अवस्थामा पुर्याउन हाल नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिको इन्चार्ज तथा पार्टीकी स्थायी समिति सदस्य रहेकी निर्वतमान अन्टुफ इन्चार्ज जयपुरी घर्तीले विशेष भूमिका खेलेको महासंघका उपाध्यक्ष एसबी थापामगरको दाबी रहेको छ ।

उपाध्यक्ष थापामगरका अनुसार जयपुरी घर्तीले आफू महासंघको इन्चार्ज भएपछि करिब एक हजार सदस्यीय जम्बो कमिटी बिबादरहित ढंगले १५१ सदस्यीय बनाइन् । यस्तै उनले आन्तरिक बिबादहरुलाई कार्यक्रमिक योजनामा ढालेर पातलेबन, नगरकोट पदाधिकारी बैठक हुँदै केन्द्रीय समिति बैठकसम्म लगिन् र पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा केन्द्रीय प्रशिक्षण राखेर नेपाली मजदुर आन्दोलनलाई फेरि एकपटक सही ट्रयाकमा हिँडाउन सफल भइन् । जसका कारण आज ‘मजदुर संगठन’ पार्टी आन्दोलनको अग्रभागमा रहेको छ भने आम श्रमजीवी मजदुरको आशा र भारोसाको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ बन्न पुगेको छ ।