
२ बैशाख ०८२, काठमाडौं । मन्त्रिपरिषद् बैठकले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ ।
मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने निर्णय गर्दै शिक्षकहरूलाई विद्यालय फर्किन आह्वान गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १२ बैशाख शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री विद्या भट्टराईकाअनुसार बैठकले शिक्षकका समस्या समाधान गर्न वार्ता जारी राख्ने र एसईईको उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन शिक्षकहरूलाई कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
यतिबेला देशभरका हजारौंको संख्यामा शिक्षक तथा विद्यालयका कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर चैत २० गतेदेखि काठमाडौँका सडकमा आन्दोलनमा छन् । उनीहरूको माग विगतमा आफूहरूसँग भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने भन्ने छ ।
२०८० को असोज २ गतेदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । सो सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो ।













