भागबन्डा नमिलेको बिचौलियाको बीचमा हो – प्रचण्ड

४ बैशाख ०८२, रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्ति गर्न दलहरुबीच नभई बिचौलियाबीच कुरा नमिलेको दाबी गरेका छन् ।

पार्टीको तराई–मधेश जागरण अभियानका क्रममा भैरहवा पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर जिल्ला समिति रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

उनले गर्भनर नियुक्ति मेरिटोक्रेसीका आधारमा गरेर अर्थतन्त्रमा देखा परेका समस्याको समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, अध्यक्ष प्रचण्डले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन्, त्यसैले ढिलो भइराखेको छ ।’

सरकारले पनि बिचौलियाको स्वार्थअनुसार नै काम गरिरहेको बताउँदै उनले राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई अपमानित गर्ने र निकाल्ने साथै नराम्रालाई भर्ति गर्ने काम भइरहेको बताए ।

उनले कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताए ।

‘पहिले त माओवादी र प्रचण्डले भनेको पुर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला । अहिले त यो कुरा कांग्रेसका महामन्त्रीहरुले नै भन्न थाल्नुभयो’, उनले भने, ‘अब त छ्याङ्ग भयो नि !’